मनकामना- मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ। गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ। यहाँ सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन्।
मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो। समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउँछन्।
'सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन,' उनले भने, 'मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ।'
मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो। मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन्। मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन्। पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ।
मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ।
मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उनको भनाइ छ।
मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन्। मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पुर्याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन्। दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बरसमेत लिएका छैनन्। राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ।
व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन्।
चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य रु १५० बताए। खाएर पैसा तिर्न खोज्दा रु ३०० का दरले हिसाब गरेर पैसा मागे। पाँच जनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए। मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ।
मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो? वीरगञ्जबाट आएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्छन्।
केबलकारको भाडा महँगो
मनकामना दर्शन प्रालिले कुरिनटारबाट मनकामनासम्म ३.२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ६७५ लिने गरेको छ। यो भाडा कुनै सरकारी निकायले तोकेको होइन। मनकामना दर्शन प्रालिले नै यो भाडा तोकेको नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठको भनाइ छ।
मनकामना दर्शन गरेर फर्किएका पुरानो बानेश्वरका विमल लामिछाने केबलकारको लागतका आधारमा भाडा बढी भएको गुनासो गर्छन्। नेपालमै पहिलो पटक २०५५ मंसिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो। त्यो बेलादेखि नै प्रालिले नै भाडा निर्धारण गर्दै आएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।