इस्लामावाद- कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउन अवधिमा बन्द भएको अन्तर्राष्ट्रिय उडान सेवा पाकिस्तानले सुरु गरेको छ। पाकिस्तानले शुक्रबार राति ११ बजेर ५९ मिनेटपछि अन्तराष्ट्रिय उडान सुरू गरिएको जानकारी त्यहाँको उड्डयन डिभिजनका प्रवक्ता अब्दुल सत्तार खोखरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनका अनुसार शुक्रबार मध्यरातपछि पाकिस्तानी र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तथा अवतरणका लागि अनुमति प्राप्त गरेका छन्। तर पाकिस्तानकै गोदावर र टुर्बाट विमानस्थलमा भने उडान तथा अवतरणको अनुमति तत्कालका लागि कार्यान्वयन नहुने उनले जानकारी गराएका छन्।
उडान तथा अवतरणको अनुमति पाउनका लागि सरकारले तोकेका शर्त तथा नियम भने पूरा हुनुपर्ने उसले जनाएको छ। यसका साथै वायुसेवा कम्पनीले गन्तव्य स्थानका प्रशासनले तोकेका शर्त पनि पूरा हुनुपर्ने बताएको छ।
पाकिस्तान सरकारले मार्च २१ देखि सबै उडान तथा अवतरणका कार्यक्रम रद्द गरेको थियो। पाकिस्तानले यसअघि नै आन्तरिक वायु सेवा भने सञ्चालनमा ल्याइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।