काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष दसैंअघि गर्दौ आएको नाडा अटो हो नहुने भएको छ। शुक्रबार बसेको नाडाको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसका कारण परिस्थिति प्रतिकूल नभएको भन्दै नाडाले दसैंअघि अटो शो गर्न नसकिने निर्णय गरेको हो।
नाडा अटोमोबाइल्स एसोसिएसनको आयोजनामा हरेक वर्ष हुँदै आएको सवारीको बिक्री तथा प्रदर्शनी २०७७ दसैंअघि गर्न नसकिने निष्कर्षमा नाडा पुगेको हो। दसैंअघि हुन नसकेको अटो शो माघ अन्तिम वा फागुनमा गर्ने छलफलसमेत भएको छ।
हरेक वर्ष दसैंको ठिकअघि गर्दै आएको अटो शो यो वर्ष कोरोनाका कारण प्रतिकूल समय भएकाले दसैंपछि गर्ने विषयमा छलफल भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
‘हाजको हाम्रो कार्यसमितिको बैठकमा अटो शोको विषयमा समेत छलफल भएको थियो,’ दुलालले नेपाल लाइभसँग भने, ‘यही अवस्थामा यो वर्ष दसैंअघि अटो शो गर्न सकिन्न भन्ने राय आएको छ। लकडाउन कायम रहँदा दसैंपछि उपयुक्त समयमा अटो शो गर्ने बारे छलफलमै छौं।’
अटो शोमा नेपाली बजारमा बिक्री हुने करिब ३० देखि ४० प्रतिशत सवारी बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ। अटो शोमा नेपालमा उपलब्ध सबैजसो मोटरसाइकल/स्कुटर तथा कारको प्रदर्शनी हुँदै आएको छ। प्रदर्शनीमा स्पेयरपार्ट तथा बैंक तथा वित्तिय संस्थाहरुको समेत सहभागिता हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।