काठमाडौं- संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टी आफैँ प्रस्ताव दर्ता गराउन अघि सरेको छ। सरकारले संविधानको अनुसूची ३ को निशाना छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता नगराएपछि जनता समाजवादी पार्टीले नीजि विधेयकको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो।
नीजि विधेयक दर्ता गराउन पाउने अधिकार अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता गराउन जसपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय पुगेका छन्। संविधानमा आफूहरुले चाहेको संशोधनको बुँदाहरुमा छलफल गराउनका लागि यस्तो प्रस्ताव दर्ता गराउन लागेको जसपाका एक नेताले बताए।
संविधान जारी भएदेखिको असहमति सरकारले नसुनेपछि आफै नीजि विधेयकको रुपमा दर्ता गराउन आएको र सचिवालयले दर्ता गर्छ वा गर्दैन थाहा नभएको ती नेताले बताए।
कुनै पनि विषयमा सांसदले संसदमा गैरसरकारी नीजि विधेयक दर्ता गराउन पाउने व्यवस्था नियमावलीमा छ। सोही व्यवस्थामा टेकेर उनीहरुले विधेयक दर्ता गराउने प्रयास गरेका हुन्।
जसपाका नेताहरुले विधेयक दर्ताका लागि दिए पनि संसद सचिवालयले भने दर्ता गर्न आनाकानी गरिरहेको छ। सचिवालयले संविधान संशोधन विधेयक निजी विधेयकका रुपमा आउनु उपयुक्त नहुने भन्दै दर्ता गर्न आनाकानी गरेको जसपाका नेता केशव झाले जानकारी दिए।
राजपाका सांसद लक्ष्मणलाल कर्णको एकल प्रस्तावमा संशोधन विधेयक तयार पारिएको छ। विधेयकमा संविधानका नौवटा बुँदा संशोधन गर्नपर्ने उल्लेख छ।
तर संघीय संसद् सचिवालयले भने प्रक्रिया पूरा नगरी आएकाले संशोधन प्रस्ताव दर्ता गराउन नसकिएको दाबी गरेको छ। नेपाल लाईभसँग कुराकानी गर्दै संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले प्रकिया मिलाइसकेपछि प्रस्ताव दर्ता गरिने बताए।
सरकारले संविधान संशोधनको प्रस्ताव संसद् बैठकका कार्यसूचीमा चढाएर पनि फिर्ता लिएको थियो। यसपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सामाजिक सञ्जालमा लेख्दै प्रतिपक्षी दलहरूले समय माग गरेका कारण केही ढिलो भएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।