काठमाडौं- सरकारले मोटरसाइकललगायत दुईपांग्रे सवारी साधनमा भने करको दरमा कुनै परिवर्तन गरेको छैन। अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक बर्ष २०७७/७८ को बजेटमा दुईपांग्रे सवारीमा भने कुनै पनि करको दर परिवर्तन भएको छैन।
मोटरसाइकलमा हाल १ सय ५५ सिसीसम्मकामा ४० प्रतिशत, १ सय ५५ सिसीदेखि २ सय ५० सिसीसम्मकामा ५० प्रतिशत अन्तःशुल्क कर लाग्दै आएको छ। त्यसैगरी, २ सय ५० सिसीदेखि ५ सय सिसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ भने ५ सयदेखि ८ सय सिसीसम्मकोमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। र, ८ सय सिसीभन्दा माथिका सम्पूर्ण मोटरसाइकलमा शतप्रतिशत अन्तःशुल्क लाग्दै आएको छ।
सरकारले आर्थिक वर्ष २०७५/७६ मै दुईपांग्रे सवारीमा अन्तशुल्कलगायतका कर वृद्धि गरेको थियो। सडक दस्तुर पनि निकै बढाएको थियो।
अहिले १ सय ५५ सिसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ।
त्यस्तै १ सय ५५ सिसीभन्दा माथि २ सय ५० सिसीसम्मका मोटरसाइकलमा १८ हजार र २ सय ५० देखि ४ सय सिसीसम्मका मोटरसाइकलमा ५० हजार सडक दस्तुर तिर्नुपर्छ भने ४ सय १ सिसीभन्दा माथिका मोटरसाइकलले सडक दस्तुर नै २ लाख रुपैयाँ तिर्नुपर्ने व्यवस्था दुई वर्षअघिको बजेटबाट गरिएको थियो। भ्याट रकमबापत सबै किसिमका मोटरसाइकलले १३ प्रतिशत लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।