काठमाडौं– बलात्कारको आरोप लागेका महानगरीय प्रहरी वृत चापागाउँका तत्कालीन प्रमुख राजकुमार खिउजु जेल चलान भएका छन्।
जिल्ला अदालत ललितपुरले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार नागेन्द्र कालाखेती नेपाल लाइभलाई जानकारी दिए।
खिउजु केही महिनाअघिमात्र सेवाबाट अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन्। चापागाउँ प्रहरी वृतको प्रमुख रहेका बेला खिउजुले सेवाग्राहीसँग कार्यालयभित्रै बलात्कार गरेको र त्यसपछि पनि पटक-पटक घटना दोहोर्याएको दाबीसहित एक महिलाले केही समयअघि ललितपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।
प्रहरी रिपोर्ट बनाउन भन्दै २०७५ माघ ३० गते वृत्त चापागाउँ पुगेकी ती युवतीलाई खिउजुले रिपोर्ट बनाइदिन सहयोग गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेको आरोप लागेको थियो। बर्दीमै रहेका उनले आफ्नो कार्यकक्षमै ती युवतीमाथि यौनदुर्व्यवहार गरेको, बलात्कार गरेको आरोप लागेको थियो।
उजुरी दर्ता भएलगत्तै प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर खिउजुको खोजी सुरु गरेको थियो। अन्ततः उनी फागुनको दोस्रो साता पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।