काठमाडौं– संविधान संशोधनका लागि सरकारले प्रस्तावकोे कार्यसूची बुधबारको बैठकमा प्रवेश नगरेपछि राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी दलको आग्रहमा संशोधन प्रस्ताव रोकिएको सरकारी पक्षको दाबी छ। प्रतिपक्ष दल कांग्रेसले सरकारी दाबीको ठाडै अस्वीकार गरेको छ।
सरकारले नयाँ नक्सा सार्वजनिक गरिसकेपछि संविधानको अनुसूचि ३ संशोधनका लागि संविधान संशोधन गर्ने प्रस्ताव अघि बढाएको थियो।
संविधान संशोधनको विधेयक बुधबार कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले प्रस्ताव पेश गर्ने कार्यसूची थियो। बुधबारका लागि कार्यसूची मंगलबार नै सार्वजनिक गरिएको थियो।
बुधबारको कार्यसूचीमा संविधान संशोधनको प्रस्ताव भएको सांसदहरुलाई समेत थाहा थिएन। मंगलबार संसद नबसी बजेटका लागि बिहीबारमात्रै बस्ने तयारी समेत थियो। नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले भने, ‘संविधानको प्रस्ताव बजेटअघि आउने चर्चा समेत थिएन। बुधबार संसद नबस्ने छलफल भएको थियो। बैठक डाकिएछ।’
जेष्ठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत बुधबार बैठक नबस्नेगरी कार्यसूची तय गरेको थियो।
कांग्रेसले विज्ञप्ति मार्फत भनेको छ, ‘जेष्ठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेष्ठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन।’
बुधबार संविधान संशोधनको प्रस्ताव बैठकमा पेश भएन। कार्यसूचीबाट हटेपछि कांग्रेसले समय मागेकाले पेश नभएको कारण देखाइयो। तर कांग्रेसले त्यसप्रति तीव्र असन्तुष्टि जनाएको छ।
प्रस्ताव फिर्ता लिनुमा कांग्रेसलाई दोष लगाइएको प्रति प्रवक्ता विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन्। सरकारलाई नै प्रश्न गर्दै प्रवक्ता शर्मा भन्छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने‚ फिर्ता गर्दा दोष लगाउने? को गर्दैछ यो षड्यन्त्र?’ संशोधन प्रस्ताव नहुनुमा कांग्रेसको कारण देखाएपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन्।
दुई दिनअघि पदाधिकारी बैठक बसी कांग्रेसले केन्द्रीय समितिको बैठकबाट अन्तिम निर्णय लिने जनाएको थियो। पदाधिकारी बैठकले गरेको निर्णयको अनुमोदनका लागि मात्रै केन्द्रीय समितिको बैठक बस्ने नेता बडुले बताए। बडुले भने, ‘हाम्रो कारण फिर्ता लिएको कसरी भन्नु? हामी संसदमा पुग्दा कार्यसूचीमा थिएन।’
संसदको बुधबारको कार्यसूचीमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने भनिएपनि सरकार अन्तिम समयमा पछि हटेको थियो। नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङ कांग्रेसले समय मागेको दाबी गर्छन्। नेपाल लाइभसँग प्रतिक्रिया दिँदै उनले भने, ‘संविधान संशोधनबाट पछि हटेको होइन। सल्लाहमै प्रस्ताव पेश नभएको हो।’
सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलहरूबीच राष्ट्रिय सहमति कायम गर्नको लागि कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाइएको बताए।
‘दलहरूले राष्ट्रिय सहमतिको लागि समय माग गरेको जानकारी सचिवालयमा आएको थियो’ उनले भने ‘सबै दलहरूमा सहमति जुटाएपछि फास्ट ट्रयाकबाट पनि जान सक्ने भएकाले हटाउन खबर आएपछि आजको बैठकको कार्यसूचीबाट संविधान संशोधन हटाइएको हो।’
संविधान संशोधनमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरू एक ठाउँमा उभिनुपर्नेमा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाएकोप्रति कांग्रेसको विरोध छ। कार्यसूचीबाट हट्नुमा कांग्रेसलाई आरोपित गरेकोप्रति कांग्रेसले खण्डन गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निशान छाप संशोधन गर्ने निर्णय गरेको थियो। निशान छाप संशोधनका लागि संविधान संशोधन आवश्यक भएपछि सरकारले संविधान संशोधन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।