काठमाडौं- पछिल्लो समय अनलाइनका माध्यामबाट हुने व्यापार (इ-कमर्स) सहरी क्षेत्रमा फस्टाउँदै गएसँगै यस्ता व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्न चुनौती पनि थपिएको छ।
अनलाइनका माध्यमबाट वस्तु व्यापार गर्ने यस्ता कम्पनीहरूले उपभोक्ता ठगी गरेको विषयमात्रै होइन सम्बन्धित निकायमा दर्तालगायत कुनै पनि कानुनी प्रकृयासमेत पुरा नगरी संचालन हुन थालेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा कोटेश्वरमा कार्यालय रहेको ‘अलिबाबा नेपाल’ नामको अनलाइन व्यापार कम्पनी कुनै पनि सरकारी निकायमा दर्ता भएको पाइएन।
व्यवसाय दर्ता नगरी व्यवसायिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त कम्पनीलाई ५० हजार जरिवानासमेत तिराएको छ।
चिनियाँ अनलाइन व्यापार कम्पनी अलिबाबासँग नाम मिल्दोजुल्दो भएपनि उक्त कम्पनी चिनीयाँ कम्पनीसँग कुनै साझेदारी रहेको नदेखिएको विभागका सहायक प्रवक्ता दीपकराज पोखरेल बताउँछन्। ‘दर्ता र स्वीकृतिबिनै व्यापार व्यवसाय संचालन गरेको पाइयो। चिनियाँ कम्पनीसँग नाम मिल्ने भएपनि उसँग कुनै सम्बन्ध रहेको देखिँदैन,’ पोखरेलले भने।
व्यापार व्यवसाय संचालनका लागि कम्पनी रजिस्ट्रार कार्यालय, वाणिज्य विभागलगायत सरकारी निकायमा दर्ता हुनेपर्ने कानुनी व्यवस्था छ।
विभागले मंगलबार नै गरेको अनुगमनका क्रममा थप २ वटा अनलाइन व्यापार कम्पनीहरू पनि कारबाहीमा परेका छन्।
मास्क र सेनिटाइजर बढी मूल्यमा बेचेर उपभोक्ता ठगी गरेको कसुरमा तिनकुनेको नक्षत्र इन्कर्पोरेसन प्रालि र खरिद–बिक्री बिलबिजक नराखी व्यवसाय संचालन गरिरहेको कोटेश्वरको इजि सपलाई कारबाही गरिएको हो। नक्षत्र इन्कर्पोरेसनलाई २ लाख रुपैयाँ र इजिसपलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।