काठमाडौं- फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले देशमा रहेका कार उद्योगलाई सहयोग पुग्नेगरी ८ अर्ब युरोको प्याकेज ल्याउने घोषणा गरेका छन्। उनले मंगलबार उत्तरी फ्रान्समा रहेको एक पार्टस् फ्याक्ट्रीको भ्रमणपछि उक्त सहयोग घोषणा गरेका हुन्।
कोरोना भाइरस (कोभिड १९) का कारण कार उद्योगहरू गम्भीर संकट उन्मुख भएको भन्दै फ्रान्स सरकारले राहत प्याकेज ल्याउने बताएको सिन्ह्वा डटनेटले लेखेको छ। राज्यले अटोमोबाइल सेक्टरलाई कोरोनापछि त्यसको प्रभावबाट मुक्त भई पुन: लयमा फर्किएर उत्पादन गर्न सकोस् भनेर आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको राष्ट्रपति म्याक्रोनले बताएका छन्।
'सरकारले अटोमोबाइल क्षेत्रलाई ८ अर्बभन्दा बढी रकम अनुदानको रूपमा उपलब्ध गराउने छ' म्याक्रोनले भनेका छन्, 'यो रकमले फ्रान्स युरोपको सबैभन्दा ठूलो सफा कार उत्पादक बन्ने योजनामा समेत सहयोगी बन्नेछ।' कोरोना भाइरसको महामारी सकिएपछि फ्रान्स युरोपकै ठूलो सफा सवारी उत्पादक बन्नेगरी काम गरिरहेको म्याक्रोनको भनाइ छ।
फ्रान्सले २०२५ देखि वार्षिक १० लाख इलेक्ट्रिक तथा हाइब्रिड कार उत्पादन गर्ने लक्ष्य लिएको छ।
त्यस्तै फ्रान्सले सवारी उत्पादकका साथै व्यक्तिगत उपभोक्तालाई समेत इलेक्ट्रिक वा सफा सवारीको खरिदमा बोनस दिने बताएको छ।
सफा कारको प्रवर्द्धनका लागि फ्रान्स सरकारले व्यक्तिगत उपभोक्ताका लागि समेत प्रतिकारको खरिदमा ६ हजारदेखि ७ हजार युरोसम्म दिने राष्ट्रपति म्याक्रोनले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।