काठमाडौं- मन्त्रिपरिषदले विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याएपछि व्यवस्थापनको जिम्मेवारी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेश फर्काएपछि राखिने स्थानको तय र व्यवस्थापन गर्न सिसिएमसीलाई दिने निर्णय गरिएको छ।
विदेशबाट नेपाली फर्काउँदा गर्भवती, खान-बस्न समस्या भएका, कम्पनीले निकालेका, विभिन्न कारणले रोजगारी गुमाएर अलपत्र परेका, अवैध रुपमा रहेर आममाफी पाएका, लकडाउनका कारण आफन्तको काजकिरियामा आउन नपाएकाहरुलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
कोरोना संक्रमण नदेखिएकालाई वडास्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै स्वदेश फर्काउने प्रक्रिया र विपतमा परेकाहरुको क्याटागोरी बनाउन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएको थियो।
जटिल अवस्थाका नागरिकको उद्धार गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेश गएर आफ्नै खर्चमा स्वदेश फर्कन चाहनेहरुलाई पनि सरकारले फर्काउने तयारी गरेको छ।
आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्न सक्ने अवस्थाकालाई होटलमा राखिने व्यवस्था मिलाउने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।