काठमाडौं– कतार सरकारले एक नेपालीलाई मृत्यूदण्ड दिएको छ। यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो। मृत्यूदण्ड पाउने व्यक्ति महोत्तरी जिल्लाका अनिल चौधरी हुन्।
सन् २०१५ मा रोजगारीको खोजीमा कतार पुगेका चौधरी कार वास कम्पनीमा लेवरको काम गर्थे। कतार पुगेको झण्डै २ वर्षपछि उनलाई हत्याको आरोप लाग्यो। कतारी नागरिक उमैर मोहम्मद- अल नुयमीको हत्याको आरोपमा सन् २०१७ मा उनी पक्राउ परे।
कतारको कानुनमा कसैले कसैको हत्या गरेको पुष्टि भएमा अपराधीलाई मृत्यूदण्ड दिने व्यवस्था छ। तर मृतकका परिवारले चाहेमा अदालतले आममाफी पनि दिन सक्छ। तर पीडित पक्षले अनिललाई माफी दिन चाहेन।
अनिललाई दोषी ठहर गर्दै २६ मार्च २०१८ मा कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसला सुनायो। कतारस्थित नेपाली दूतावासले अनिलको कानूनी प्रतिरक्षाका लागि सर्वोच्चमा बहस गर्न आवश्यक वकिल खर्च ( झण्डै ३० हजार कतारी रियाल) सरकारसँग माग गर्यो।
बोर्डले दूतावासमा पठाएको पेस्की रकमबाट कानूनी प्रतिरक्षाका लागि आवश्यक रकम खर्च गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको थियो। तर कानुनी प्रतिरक्षाका लागि दूतावासले काम गर्न नपाउँदै कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसलालाई अनुमोदन गर्यो। त्यसपछि अनिललाई जेल प्रशासनले गोली हानी मृत्यूदण्ड दिएको हो।
जीवन रक्षाका लागि पहल गर्दागर्दै पनि अनिललाई मृत्यूदण्डबाट मुक्त गराउन नसकिएको दूतावासको भनाइ छ। मृत्यूदण्डको कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताए।
तर मृतकका परिवारले आममाफी दिन नचाहेपछि अदालतले पनि त्यसलाई रोक्न सक्दैन। अन्ततः अनिल चौधरीलाई मृत्यूदण्ड दिइयो।
उनको शव अहिले त्यहीँको स्थानीय अस्पतालमा राखिएको छ। लकडाउनका कारण स्वदेश फर्किन समस्या छ। त्यही सद्गद् गर्न परिवारबाट सहमति जुटेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।