काठमाडौं- सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा बिहीबार बिहान नदीमा भोला महतको शव फेला परेको हो।
उनी भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकबाट र्याफ्टिङ ल्याएर खोज्ने क्रममा उहाँको शव फेला परेको र सोही गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय अशोक गिरीको भने अझै खोजीकार्य जारी रहेको बताइएको छ।
दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको जिप अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी कोल्टो पर्दा हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसेर उनीहरू बेपत्ता भएका थिए।
सोही गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।