काठमाडौं- चिनियाँ इलेक्ट्रिक सावरी उत्पादक कम्पनी बिवाइडीका इलेक्ट्रिक सवारी विश्वभर नै चर्चित रहेका छन्। नेपाली बजारमा समेत बिवाइडीका इलेक्ट्रिक कारहरु उपलब्ध छन्।
बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ इलेक्ट्रिक भ्यान ल्याउने भएको छ। बिवाइडीको इलेक्ट्रिक बस समेत नेपाल आएको भए पनि सञ्चालन भने हुन सकेको छैन।
लुम्बिनी विकास कोषले ल्याएको उक्त बस विभिन्न कारणले विवादमा परेपछि बस कम्पनीकै ग्यारेजमा थन्किएर बसेको छ। तर बिवाइडीको इलेक्ट्रिक कार भने बिक्री भइरहेको छ। कम्पनीले नयाँ इलेक्ट्रिक भ्यान ल्याउने यसबारे सामाजिक सञ्चालनमार्फत जानकारी दिन थालेको छ।
साइमेक्सले ल्याउन लागेको इलेक्ट्रिक भ्यान समान ओसारपसार गर्नका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। यो नेपालमा भित्रिने पहिलो इलेक्ट्रिक डेलिभरी भ्यान हुनेछ।
बिवाइडीको टिथ्री नाम दिइएको सो भ्यानका दुबै ढोका स्लाइडिङ गर्न मिल्ने छ। विभिन्न अत्याधुनिक विशेषता रहेको यो भ्यानमा ३.८ वर्गमिटरको सामान राख्ने ठाउँ उपलब्ध रहेको छ।
यो भ्यानमा ५०.३ किलोवाटको ब्याट्री प्याक उपलब्ध छ भने सो ब्याट्रीले एक पटक फुल चार्ज गर्दा ३ सय १० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ।
टिथ्रीको रेञ्जलाई सपोर्ट गर्न यसमा रिजेनरेटेड ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ। यस भ्यानमा सुरक्षाका लागि इबिडी सहितको एबिएस ब्रेकिङ सिस्टम रहेको छ।
कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण उक्त सवारी नेपाल भित्रिन नसकेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।