काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) कारण ज्यान कसैले नगुमोस् भन्ने सरकारको प्रयास असफल भएको बताएका छन्।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन सदनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले वर्तमान समय असहज र असामान्य अवस्थामा रहेको औंल्याए। कोरोना संक्रमणमा मृत्यु भएका दुईमा अन्य रोगको संक्रमण पनि देखिएको उल्लेख गरे। उनले भने,‘अन्य जटिलताले निधन भएको पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठनले नै कोरोना पनि जोडिएको भए कोरोना मृत्युको कारणसँग जोडेकाले त्यसै रुपमा लिनुपर्छ।’
‘कोरोना भाइरसका कारण ज्यान गुमाएको प्रति दुःख व्यक्त गर्न चाहान्छु। कसैले पनि कोरोनाका कारण ज्यान गुमाउन नपरोस भन्ने प्रयास असफल भएको छ’, नीति तथा कार्यक्रममा बोल्दै उनले भने ‘यही कारण दुई जनाको निधन भएको छ। अरु विमारीको जटिलताले पनि भएको हुनसक्छ।’
उनले संक्रमितको स्वास्थ्यलाभको कामना पनि गरे। संक्रमित छिटै ४०३ पुग्नसक्ने जानकारी आफूले पाएको उनले सदनमा जानकारी दिए। ‘सरकार सकेसम्म बढी परिक्षण गर्ने र भरपर्दो रुपमा क्वारेनटाइनमा राख्ने र आइसोलेनमा राख्नेमा ध्यानमा लागेको छ’, प्रधानमन्त्रीले भने ‘यसलाई अझै व्यवस्थित र भरपर्दो बनाउनुपर्ने छ।’
अहिले विश्व नै असहज अवस्था रहेको र नेपाल पनि असमान्य अवस्थामा रहेने उनले बताए। कोरोनाको महामारी नेपालमा बाहिरबाट आएका मानिसहरुमा मात्र देखिएको उनको भनाइ थियो।
'सभामुख महोदय, मलाई उभिएर बोल्न गाह्रो भयो'
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न गाह्रो भएको छ।
कोरोनाको विश्वव्यापी तथ्यांक र सरकारको तयारीको विषयमा बोलिरहेका बेला उनलाई बोल्न गाह्रो भएको हो।
‘सभामुख महोदय, मलाई स्वास्थ्यको कारणले उभिएर बोल्न गाह्रो भयो’, आफ्नो सम्बोधनको २०औं मिनेटमा उनले भने।
रोस्टमबाट बोलिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि सभामुखले संसदका महासचिवलाई कुर्सीको व्यवस्था गर्न भनेका थिए।
केही बेरपछि उनलाई कुर्सीको व्यवस्था भयो र पुनः सम्बोधन सुरु गरेका छन्।
केही महिनाअघि प्रधानमन्त्रीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।