काठमाडौं- सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ।
प्रधानमन्त्रीले पहिले राष्ट्रियसभा र पछि प्रतिनिधिसभामा जवाफ दिनेछन्। मंगलबार ११ बजेका लागि राष्ट्रियसभा र १२ बजेका प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। सांसदहरुले जेठ ४ र ५ गते त्यसमाथि छलफल गरेका थिए।
प्रतिनिधिसभाका संशोधनकर्ता सहित १ सय १४ जना र राष्ट्रियसभामा ४४ जनाले छलफलमा भाग लिएका थिए।
छलफलका क्रममा प्रतिपक्षी दलका सांसदहरुले कोरोना महामारीका बेलामा पनि सरकारले नागरिकको पीडा बुझ्न नसकेको बताएका थिए। अधिकांश सांसदहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। त्यस्तै, कृषि उत्पादन बढाउने कार्यक्रम ल्याउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने, सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउनुपर्ने, विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउनुपर्ने, भारतले हडपेको भूमि फिर्ता ल्याउनुपर्ने माग गरेका थिए। सांसदहरुले भ्रष्टाचार बढेको भन्दै सरकारको आलोचना गरेका थिए।
कोरोनाको त्रासका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइएको थियो। सोही अनुसार नीति तथा कार्यक्रममाथिको छलफल दुई दिनमात्रै चलेको थियो
मंगलबार नै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद सचिवलायले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।