काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा संसदमा बोल्दै देउवाले सरकारप्रति असन्तुष्ट व्यक्त गरे। विगत दुई वर्षमा धेरै काम गरेको दाबी गर्ने सरकारलाई पुनः नीति तथा कार्यक्रम पढ्न उनले आग्रह गरे। उनले संसदमा भने, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एक पटक पढ्न अनुरोध गर्दछु। जसले नयाँ नीति कार्यक्रमका असत्य दावालाई उजागर गर्नेछ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै देउवाले सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नै नभएको आरोप लगाए। वर्तमान सरकारप्रति रुष्ट देखिएका देउवाले जनताको दुःखप्रति कुनै वेदना नभएको आरोप लगाए। उनले भने, ‘जनताको पीडा बुझ्न सक्ने हृदय छैन। सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन।’
एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना सरकारले प्रस्तुत गरेको आरोप लगाए। नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको देउवाको निचोड छ।
सरकार दुई पहिलेको नीति कार्यक्रम हेरेर आफैं लज्जित बन्नुपर्ने भएको उनले बताए। विगतका नीति तथा कार्यक्रममा परेका तथा सम्पन्न नभएका योजनाको समेत उनले सदनमा सुनाए। ‘त्यो बेला एक वर्षभित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन’, उनले भने, ‘तीनवटा मुख्य राजमार्गको छेउमा बनाउछु भनेको ७६५ केभी ट्रान्समिसन लाइन, निजगढ एयरपोर्ट निर्माण प्रतीक्षामा छन्।’
पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा गर्ने सपना तुहिएको बताए।
कोरोना संक्रमण रोकथाममा सरकार चुकेको आरोप समेत उनले लगाए। उनले प्रश्न गरे, ‘सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्यो?’
परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाए। विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेको ध्यानाकर्षण पुनः सरकारलाई गराए। भारतीय सीमा नाकामा हजारौं बिचल्लीमा परेका नागरिकलाई घर फर्कने वातावरण बनाउन नीति कार्यक्रममा ठोस योजनाको अभाव रहेको उल्लेख गरे।
महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले सरकार चुकेको आरोप लगाए पहिलो संक्रमित व्यक्ति ०७६ माघ १० मा भेटिएको ४ महिना पुगेको स्मरण गर्दै भने, ‘लकडाउन ५५ दिन पूरा भयो। पिसिआर विधिबाट केवल २६ हजार ६ सय ९१ जनाको मात्र परीक्षण भएको स्वयं सरकारी तथ्यांकले देखाउंछ।’
प्रधानमन्त्री नै भ्रष्टचारीलाई बचाउने कार्यमा लागेकाले उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।