काठमाडौं- सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्। संघीय संसद् भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्याक्रम कार्यान्वयनमा चुनौति रहेको बताएका हुन्।
‘चुनौती चाँहि कार्यान्वयनकै छ। मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले राम्रै गति लिन्छ,’ उनले भने।
यसैगरी नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मुल्याङ्कन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताए।
अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौती रहेको उनको पनि भनाइ छ।
‘अहिलेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिँदैन। त्यो प्रभावको समग्र मुल्याङ्कनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ,' उनले भने, 'अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ । सबै क्षेत्रलाई समेटेको छ फेरीपनि कार्यान्वयनका चुनौतिहरु हाम्रा अगाडि छन् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।