भैरहवा- लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्ना सदस्यहरूको कोरोना बीमा गराएको छ। अजोड इन्स्योरेन्ससँग बीमालेख सम्झौता गरी क्लबका सबै सदस्यहरुको कोरोना बीमालेख जारी गराइएको जानकारी क्लबले दिएको छ।
सीमा क्षेत्रमा रहेर जोखिमपूर्ण तरिकाले पत्रकारिता गरिरहेका क्लबका सदस्यहरुको सुरक्षाका लागी बीमा गरिएको क्लबका अध्यक्ष दिपेश पछाईले बताए। क्लबले सबै सदस्यहरुका लागि बीमा गरिएको महासचिव सम्झना शर्माले जानकारी दिइन्।
फिल्डमा खटिएर पत्रकारिता गर्ने क्रममा जो कोही पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण भएमा अजोड इन्स्योरन्स कम्पनीले एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ।
सञ्चार गृहहरुले नियमित तलब दिन नसकेको अवस्थामा र स्वयंले परिवारका सदस्यहरुलाई रेखदेख गर्नु परेको अवस्थामा संक्रमित भएर अस्पताल बस्नुपरेमा परिवारमा आइपर्ने समस्यालाई मध्यनजगर गर्दै बीमा गरिएको क्लबको भनाइ छ।
संक्रमितको उपचार निःशुल्क रूपमा सरकारले गर्ने भएपनि पत्रकारले प्राप्त गरेको रकमले घरपरिवारलाई राहत पुगोस् भन्ने हेतुले बीमा गरिएको अध्यक्ष पछाईले बताए।
पत्रकारहरुको कोरोना परीक्षण पिसिआर रिर्पोटका आधारमा बीमा रकम मागदाबी गरिएअनुसार भुक्तानी हुने अजोड इन्स्योरेन्स कम्पनी भैरहवा शाखा प्रमुख प्रकाश शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।