काठमाडौं- राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)ले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्ब न गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा ‘कोभिड १९’ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन योजना नामक पुस्तक प्रकाशित गरेको छ।
बिहीबार एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले संयुक्त रुपमा पुस्तकको विमोचन गरे।
पुस्तक विमोचनपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले पुस्तकले आर्थिक गतिविधि सुचारु गर्न श्रमिक कामदारलाई सुरक्षित माध्यमबाट काममा फर्किने वातावरण तयार गर्न सहयोग पुग्ने र यसबाट अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले अहिलेको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न सक्नुपर्ने पनि धारणा राखे।
अहिले सुरक्षा नै ठूलो चुनौती भएको हुनाले त्यसलाई ध्यान दिँदै उद्योग व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यान आकर्षण भएकोसमेत उनले बताए। यो अवस्थामा उद्योगहरू सञ्चालन गर्दा मजदुरहरूलाई केही भवितव्य परेमा सरकारले त्यसको जिम्मा लिने उनको भनाइ छ।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले श्रमिक कामदारलाई जोखिम न्युनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सूचारु भई आम जनजीवन सामान्य अवस्थामा तर्फ अघि बढ्ने भएकोले यसको कार्यान्वयन पक्षमा जोड दिन आग्रह गरे। मन्त्री यादवले बन्दाबन्दीले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने श्रमिकहरूलाई अत्यन्त ठूलो असर परेको बताए।
पुस्तकबारे संक्षिप्त जानकारी दिँदै पहलका अध्यक्ष कुशकुमार जोशीले पुस्तकले सुझाएका विषयवस्तुलाई सरोकारवाला पक्षले इमान्दारिताका साथ अबलम्वन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए। साथै उनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भइरहेको र अझ निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प प्रायः भएको सन्दर्भमा सुरक्षित वातावरणमा उद्योग सञ्चालनको लागि विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत अन्य निकायहरूको मापदन्डमा नियम पालना गरी काम कसरी चलाउने‚ मजदुरहरूको स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने कुरा सो पुस्तकमा समावेश गरीएको कुरा बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।