फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक राजनीतिक परिवर्तनको सही व्यवस्थापन नहुँदा युवाहरुको सदुपयोग नभएको बताएका छन्।
युवा दिवसमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले युवाको शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्ने खतरा रहेको समेत उल्लेख गरेका छन्।
नेपालमा भएका सामाजिक/राजनीतिक परिवर्तनमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको उनले स्मरण गरे। विगतमा रोजगारीका अवसर सिर्जना हुन नसकेको तथा हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवाहरु विदेश जान बाध्य भएको उल्लेख गरेका छन्। विगतमा देशभित्र रोजगारी सिर्जना हुन सकेको भए विश्वव्यापी महामारीले संकटमा पुर्याएको अर्थव्यवस्थाको संकट टर्ने बताएका छन्।
कोरोना महामारीले रोजगार गुमेका युवालाई पुनः रोजगार उपलब्ध गराउन उपायको खोजीमा सरकार रहेको प्रधानमन्त्री ओलीले जनाए। बिहीबार ३१ औं युवा दिवस परेको छ। २०४७ जेठ १ मा राष्ट्रिय युवा संघको जन्म भएको थियो। जेठ १ लाई कम्युनिस्ट विचार नजिकका युवाहरुले युवा दिवसका रुपमा मनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।