काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समिति बैठकले कोरोना परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो।
‘पिसिआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मास्क, थर्मल गनलगायतका उपकरण तत्काल व्यवस्था गनुपर्ने देखिन्छ’ समितिले भनेको छ‚ ‘औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्नुपर्ने देखिन्छ।’
समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि सरकारलाई निर्देशन दिएको छ। सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।
परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।
समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि भनेको छ। विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि समितिले भनेको छ। यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।
क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा घर फर्किने व्यवस्था मिलाउन पनि समितिले भनेको छ।
कोरोना महामारीको असर मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।