काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै जाँदा धादिङका मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी बढाइएको छ। खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयबासीमा सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सवारी साधन रोक्न निषेध गरिएको उनले बताए।
सबै नाकाबाट भित्रिनेहरुलाई आउन बन्द गरी कोरोनाको जोखिम हुन नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए। जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको उनले बताए। त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना रहेको समेत उनले जानकारी दिए।
कडाइ गर्न थालेपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ। यसअघि दिइएको सवारी पास खारेज गरिएकाले सवारी आवागमन घटेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए। वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यातायातका साधनले राजमार्ग नै भरिएको थियो। सरकारले अहिले एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्नसमेत रोक लगाएका कारण सवारी साधन जिल्लाभित्र मात्र गुड्ने भएपछि केही अत्यावश्यक सवारी मात्र सञ्चालनमा रहेको छ।
अन्य जिल्लाबाट धादिङ प्रवेश गर्न पुरानो सवारी पास लिएर आउनेलाई नाकाबाट फर्काइएको छ। काठमाडौं जानका लागि अतिआवश्यक सामान लिएर धादिङको बाटो प्रयोग गर्नेलाई सवारी साधन रोक्न निषेध गरिएको छ। नियमित प्रहरीको गस्ती गरिरहेको छ।
सीतापाइला जीवनपुर सडकको छत्रेदेउराली, गल्छी, आरुघाट, बुङकोटघाट, बेनीघाटलगायतका नाकामा समेत निगरानी गरिएको छ। हिँडेर आउनेलाई समेत जाँच गरिएको छ भने कुनै शङ्कास्पद कोरोनाको लक्षण देखिएमा आरडिटीबाट जाँच गरिने योजना रहेको भट्टले बताए। अन्य जिल्लाबाट आउनुपर्नेलाई क्वारेनटाइनमा राखेरमात्र घर पठाइने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ।
जिल्ला बाहिरबाट तरकारी र फलफूल ढुवानी प्रतिबन्ध गरिएको छ। सबै सामग्री जिल्लामै भएकाले बाहिरबाट ल्याउन नपाइने भएको हो। कोरोनाको जोखिम बढ्ने भएकाले बाहिरबाट सामान नल्याउने, पाँच महिनाका लागि चामलसमेत मौज्दात भएकाले धादिङ जिल्ला सुरक्षित गर्न सकिने अवस्थामा रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।