काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएको छ। उनी उपचारका लागि कपिलवस्तुबाट वैशाख ६ गते काठमाडौं आएकी थिइन्।
बालिकाको घाँटीमा मासु पलाइका कारण शल्यक्रियाको लागि अस्पताल पुगेको बताइएको छ।
बालिका अस्पताल आएपछि सिधै न्यूरो वार्डमा पुर्याइएकी थिइन्। अस्पतालका एक स्वास्थ्यकर्मी भन्छन्, ‘रेड जोनबाट आएको व्यक्तिको ट्राभल हिस्ट्री नसोधी सिधै वार्डमा पठाइएको छ। कोभिडका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्ड छ। त्यसको के काम?'
ती बालिकाको शल्यक्रिया गर्नुअघि पिसिआर जाँच गरेर मात्रै शल्यक्रिया गर्ने निर्णय गरेपछि पिसिआर गरिएको थियो। उनको परीक्षण पोजेटिभ आएपछि सो वार्डमा खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मी र वार्डमा भर्ना भएका बिरामीहरु त्रसित भएका छन्।
अस्पतालले सो वार्डमा रहेका १५ जना बिरामी र चिकित्सक, नर्स र अन्य सहयोगी १० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको जनाएको छ।
बालिकालाई भने आइसोलेसन वार्डमा सारिएको छ।
उपचारका लागि देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको तर अस्पतालले उनीहरुको ट्राभल हिस्ट्रीलाई ख्याल नगर्दा सबैलाई जोखिममा पारेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आपत्ति जनाएका छन्।
भर्ना भएका र ओपिडीमा गरी दैनिक २ सय बिरामी अस्पतालमा पुग्ने गरेका छन्। यसबारे आधिकारिक धारणा सार्वजनिक अस्पतालमा अहिले छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।