काठमाडौं- दोस्रो बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। सरकारले लकडाउनलाई कडा गरे पछि बजार बन्द गर्ने निर्णय भएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए।
सरकारले लकडाउनलाई कडाइ गर्ने भन्दै यस अगाडि दिएका पासलाई पनि रद्द गरेपछि बजार बन्द गरिएको उनले बताए। यस्तो अवस्थामा ब्रोकर कार्यालय नेप्सेको कार्यालय नै खोल्न नसकिने भएकोले शेयर बजार बन्द गर्ने निर्णय भएको हो। अव लकडाउन अवधि भरि बजार बन्द रहने गिरिले जानकारी दिए।
गत २६ गते बोर्डले सबै पक्षलाई बोलाएर बजार खोल्ने नखोल्ने भन्ने विषयमा छलफल गरेको थियो। सबैले बजार खोल्नु पर्छ भन्ने सुझाव दिएपछि बजार खुला गरेको थियो।
मंगलबार र बुधबार बजार खुल्दा दुबै दिन नेगेटिभ सर्किट लागेर बन्द भए पछि लगानीकर्ताका संघ संगठन विरोधमा उत्रिएका थिए। दुई दिन अगाडि बजार खोल्नु पर्छ भन्दै आवाज उठाउने लगानीकर्ताहरु बजार घट्न थालेपछि बजार बन्द गर्न बोर्ड र नेप्सेलाई दबाब दिएका थिए।
केही दिनदेखि लगातार कोरोनाबाट संक्रमितको संख्या बढ्न थालेपछि सरकारले बिहीबारदेखि लक डाउनलाई थप कडाइ गरेको छ। लगानीकर्ताले लकडाउनको कडाइलाई बहाना बनाउदै बजार थप घट्न नदिन बजार बन्द गर्ने दबाब दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।