काठमाडौं- सुनसरी र रामेछापबाट आएका व्यक्तिमा कोभिड १९ संक्रमण देखिएपछि भक्तपुरमा अति जरुरी कामबाहेक घरबाट बाहिर निस्कन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले बिहीबारबाट लागू हुने गरी गरी सो निर्णय गरेको हो।
यसअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको बैठकले लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको र अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने निर्णय गरेको थियो।
जिल्लामा कोभिड–१९ को जोखिम र समुदायमा सङ्क्रमण बढ्न नदिन कोही पनि सर्वसाधारणलाई घरबाहिर निस्कन नपाउने निर्णय भएको कार्यालयले जानकारी दिएको छ। यसैगरी भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज समेत भएको छ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, वीरदल गण सूर्यविनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायत चारवटै नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो।
विपद् व्यवस्थापन समितिको बैठक मुख्य निर्णयहरु
१. काठमाडौं उपत्यकाका सबै सीमा क्षेत्रमा अति आवश्यक बाहेक कुनै पनि व्यक्तिलाई प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
२. हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि भारतबाट आउने फलफूल, माछामासु र तरकारी गाडीहरुलाई यस नगरपालिकामा प्रवेश निषेध गर्ने व्यवस्थाको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने ।
३. भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
४. भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसल जस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुन लगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने ।
५. भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परिक्षण नगराई आफ्नो घरमा नराख्नको लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने ।
६. भक्तपुर नगरबासी दाजुभाईमा आ– आफ्नो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सो को विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आफ्नो वडा भित्रको एकीकृत विवरण तयार गर्ने ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको देशव्यापी लकडाउन कार्यान्वयन गर्ने क्रममा भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर उद्योग वाणिज्य संघ लगायतले गरेका गतिविधिहरुको बैठकमा समीक्षा गरिएको स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।