एजेन्सी- किर्गिजस्थानमा ‘कोभिड-१९’ को अवस्थामा केही सुधार आएको त्यहाँका उप स्वास्थ्यमन्त्री नुर्बोलोतले बताएका छन्। बुधबार देशमा कोभिड-१९ का सातवटा मात्र नयाँ सङ्क्रमण भेटिएको उनले बताएका छन्। सङ्क्रमितको सङ्ख्यामा कमी ल्याउन धेरै समयदेखि प्रतिक्षा गरेको तर हालको अवस्थामा केही सुधार आएको उनले जानकारी दिएका छन्।
गत २४ घण्टामा कोही पनि स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण नभेटिएको पनि स्वास्थ्यमन्त्रीले बताएका छन्।
किर्गिजस्थानमा २ सय ४१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यसमा १ सय ८९ जना भने निको भएको जनाइएको छ।
हाल देशभरीका अस्पतालहरुमा ३ सय ६ कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरु उपचार गराइरहेका र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र चार जना आकस्मिक कक्षमा उपचाररत रहेको जनाइएको छ।
किर्गिजस्थानमा ७ सय २६ व्यक्तिलाई कोरोना भाइरस निको भएको जनाइएको छ। त्यहाँ १ हजार ४४ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।