काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले नेपालको भूभाग फिर्ता ल्याउने कुरामा 'खुट्टा नकमाउन' सरकारलाई आग्रह गरेका छन्। यो विषय समाधानका लागि सरकारले चाल्ने हरेक कदममा आफूहरुको साथ रहेको ढाडस दिँदै राजनीतिक दलहरूले सरकारलाई यस्तो आग्रह गरेका हुन्।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीका अनुसार बैठकमा सहभागी सबै पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुले एकै स्वरमा नेपालको भूमिमा भारतले सडक खोलेकाले आफूहरूका प्रमाण संकलन गर्न र त्यसमा सबै जनताको साथ रहने भन्दै सरकारका हरेक अडानमा सबै पार्टीहरूबाट सहयोगको प्रतिबद्धता गरेका हुन्।
सबैले प्रभावकारी कूटनीतिक कदम चाल्न सुझाव दिएको र यो कुराको जानकारी सबै जनतालाई गराउन पनि सुझाव दिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। जनताको साथ र एकतालाई साथमा लिएर यो समस्या समाधान गर्न सुझाव आएको उनले बताए। सबैको सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो एकता कायम रहने बताएको उनले बताए।
‘पुर्खाहरुले लडेर बचाएको देश अहिले हामी अडेर बचाउनुपर्छ। थप लड्न जरुरी छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने‚ ‘सरकार सबै जनता र राजनीतिक दलहरको साथ लिएर अघि बढ्नेछ। हामी भारतसँग असल मित्रता चाहन्छौं तर त्यसका लागि आफ्नो भूभागको रक्षा सर्वोपरि हुन्छ।’
यो विवाद समाधानको लागि कुटनीतिक वार्ता नै एकमात्र माध्यम भएको र सरकार यो वार्ता अबिलम्ब होस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीले प्रष्ट पारेको ज्ञवालीले बताए।
भारतले वार्ताका लागि कोरोनालाई एक प्रकारको कारणजस्तो बनाएको भन्दै उनले भारतलाई वार्ता गर्न कोरोनाले रोक्ने तर विवादित क्षेत्र भनेर आफूले स्वीकार गरेको ठाउँमा सडक उद्घान गर्न भने नरोक्ने कार्य गलत भएको प्रधानमन्त्रीले सर्वदलीय बैठकमा भनेका छन्।
‘हामी जुनसुकै लेभलमा पनि वार्तामा बस्न चाहन्छौं। छिटोभन्दा छिटो यसलाई समाधान गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने। यो वार्ता पर सार्न नहुने पक्षमा प्रधानमन्त्री रहेको उनको दाबी छ। सरकार अब कुनै पनि रुपमा यसलाई टुङ्गोमा पुर्याउने पक्षमा रहेको उनले बताए। सरकारले उक्त क्षेत्रमा आफ्नो उपस्थितिका लागि बुधबार नै सुरक्षाकर्मी पठाएको र सो क्षेत्रमा बाटो पनि छिट्टै निर्माण गर्ने बताए।
मन्त्री ज्ञवालीले त्यहाँ रहेका जनताको बारेमा भने उनीहरुको सहमति लिइने बताए। ‘हामी वार्ताबाट यो क्षेत्रको विवाद मिलेपछि त्यहाँका जनताहरुलाई चाहेमा त्यहीँ बस्ने व्यवस्था गर्छौं,’ उनले भने। भारत वार्तामा आउला त भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भारतले वार्ता गर्नु नै पर्ने भएकाले छिटै वार्ता हुने विश्वास व्यक्त गरे। वार्ता दुवै देशको हितमा हुने भएकाले भारत भाग्न नसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।