काठमाडौं- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट लाग्ने ‘कोभिड–१९’ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा राहत वितरणका लागि एनएमबी बैंक महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकालाई १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।
नगरपालिकाले स्थापना गरेको ‘भीमदत्त नगरपालिका प्रकोप व्यवस्थापन कोष’का लागि बैंकले बुधबार उक्त रकम सहयोग गरेको हो। एमएनबी बैंक महेन्द्रनगर शाखा प्रबन्धक पशुपतिनाथ जोशीले १ लाख ५० हजार रूपैयाँ बराबरको चेक नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रममा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख वीरुराम जैशीको पनि उपस्थिति थियो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत कोरोना संक्रमण रोकथामका लागि सहयोग गरिरहेको छ।
यसअघि एनएमबी बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको थियो। त्यस्तै सबै प्रदेशलाई ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ सेट र अन्य सुरक्षा सामग्रीहरु पनि सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।