कैलाली- धनगढी उपमहानगरपालिकाले वडा नं. ४ मा वितरण गरेकाे राहत चामल आपूर्तिकर्तालाई २ लाख रपैयाँ जरिवाना गरिएकाे छ। कम गुणस्तरको चामल आपूर्तिकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिवाना गरिएको हाे।
वडाका केही स्थानीयहरुले राहत अन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि धनगढी उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निरीक्षक कमलबहादुर पुन मगरले छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ( ङ) बमोजिम कसूर रहेको देखिएकाले चामलको आपूर्तिकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई जरिवाना गरिएको बताए।
तोकिएको जरिवाना ७ दिनसम्म दाखिला नगरेमा कारोबार बन्द गरी कारबाही अगाडि बढाउने व्यवस्था रहेकाे पुनले बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चामलको चेकजाँच गर्ने धनगढी उपमहानगरपालिका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताए। उनले भने, 'त्यसमा पनि केही कैफियत देखिएमा थप कारबाही अगाडि बढाइन्छ।'
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निरीक्षक दिपक कुँवरले गलत गर्ने जो कोहिलाई पनि कारबाही गर्ने जिम्मेवारी आफूहरुको भएको बताए।
धनगढी उपमहानगरपालिकामा राहतको खाद्यान्न खरिद गर्ने ठेक्का ठाकुर ट्रेडलिङ्कले पाएको थियो। वडामा संकलन गरिएको राहत पाउनेको विवरणका आधारमा आपूर्ति कर्ता फर्मले वडामा नै खाद्यान्न पुर्याएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।