काठमााडौं- संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष बिमलप्रसाद श्रीवास्तवले कतिपय गन्तव्य मुलुकहरुले आफैँले खर्च बेहोरेर नेपाली कामदारहरु पठाउने तयारी गरिरहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले युएई, कुवेतलगायतका मुलुकहरुले विमान चार्टर गरेर नेपाली कामदारहरु पठाउने तयारी गरिरहेकाले उनीहरुका लागि क्वारेन्टाइनको पूर्व तयारीमा सरकारले ध्यान पुर्याउनुपर्ने बताएका हुन्।
बैठकमा बोल्दै सांसद श्रीवास्तवले भने, ‘विदेशमा रहेका हाम्रा लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरु फर्किने अवस्थामा छन्। त्यसका लागि स्कुल कलेजहरु कहाँकहाँ छन्। कसरी सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्ने भनेर सोच्ने बेलामा खै त्यो विषय प्राथमिकतामा परेको?’
सांसद श्रीवास्तवले त्यसका लागि सरकाले छुट्टै बजेट विनियोजन गर्नुपर्ने र आवश्यक जनशक्ति पूर्वतयारीका साथ राख्नुपर्ने बताए।
अहिले गन्तव्य मुलुकहरुले प्लेन चार्टर गरेर पठाउँछु भनिरहँदा तत्काल नपठाउ भन्दै बसेको सरकारले कुनै पूर्वतयारी नगर्दा समस्या निम्तिन सक्ने उनको भनाइ छ।
‘आज गन्तव्य मुलुकले आफैं प्लेनमा राखेर नेपाल पठाइ दिन्छु भन्दा अहिले नल्याउ भन्नुपरेको स्थिति छ। भोलि ५/१० वटा वोइङबाट मात्रै पनि नेपालीलाई ल्याइदिए भने कहाँ राख्ने?’ उनले प्रश्न गरे।
यो विषयलाई सरकारले प्राथमिकताका साथ लिनुपर्ने उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।