काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना महामारीको समयमा राहत बाँड्न गाउँगाउँ जाँदा कोरोना सारेको आरोप लगाएका छन्। सांसद विडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर मन्त्री, सांसद र नेताहरुले घुमेपछि कोरोना फैलाएको आरोप उनले लगाए।
राष्ट्रियसभामा बाेल्दै उनले राहत कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपाएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाउने काम गरेका अरोप लगाए। ‘म नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट, टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे,’ विडारीले भने, ‘मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे। राहत भूकम्पको बेलामा बाँड्ने हो। राहत बाढी पीडित भएको बेलामा बाँड्ने हो। अहिलेको राहत लोकल सरकारले बाँड्ने अरुले बाँड्ने होइन।’
उनले स्थानीय सरकारको वडाध्यक्षले बाँड्ने राहतमा मन्त्री र सांसद पुगेको प्रति उनले व्यंग्य गरे। राहत वितरणको आधार के हुने? कुन व्यक्तिलाई राहत दिने? भन्ने कुरा कानुन बनाएर लागू गर्ने भएपनि त्यो पालना हुन नसकेको उनले बताए।
स्थानीय तहमा उत्पादन भएका तरकारी, दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्याउन पनि उनले माग गरे। भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको टिप्पणी गरे। संविधान निर्माणमा बाधा, नाकाबन्दी र सिमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरानी दिएको उनले बताए।
‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पारेको छ,’ उनले भने, ‘कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिन्छन् भने कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दीको हैरानी बनाएर थप तहसनहस पार्न खोज्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।