काठमाडौं- बुधबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सहभागी हुन नसक्ने भनेपछि बैठक स्थगित भएको छ।
‘महामारी धेरै बढ्यो। मेरो स्वास्थ्यमा पनि समस्या भयो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'म बैठकमा आउँदिनँ। तपाईंहरु नै चलाउने भए चलाउनुस्। मचाहिँ उपस्थित हुन्न।'
उनका अनुसार, प्रधानमन्त्रीले आफूलाई सन्चो नभएको र बैठक-बैठक भन्ने प्रवृत्ति पनि मन नपरेको बताएका थिए।
बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा देशभरबाट स्थायी कमिटी नेताहरु आउनुपर्ने भएकाले स्थागित गरिएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘कोरोना महामारीको प्रकोप बढ्दै गएको छ। देशभरबाट नेताहरु आउँदा थप संक्रमण बढ्ने देखेपछि स्थागित भयो’, उनले भने।
यस अघि २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइए पनि बैठकमा पेश गर्ने एजेण्डामा विवाद हुँदा स्थगित भएको थियो। आजको बैठकमा सीमा विवाद र बजेटका विषयमा एजेण्डा तय गर्ने सहमति भएको थियो।
सरकारले विवादित दुई अध्यादेश ल्याएपछि नेकपाभित्र स्थायी कमिटी बैठकको माग उठेको थियो। २० सदस्यले अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।