काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २१ प्रतिशतले जीवन बिमा व्यवसाय बिस्तार गरेको छ। कम्पनीले चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गर्न सफल भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आर्जन १५ अर्ब १९ करोड रुपैयाँ थियो।
कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ थियो। कम्पनीले थाेरैले नाफामा सुधार गरेको हो। यो नाफा बिमाङ्कीय मूल्याङ्कन अगाडिको हो। सम्पत्ति तथा दायित्व मूल्याङ्कन 'बिबमाङ्कीय' पछि कम्पनीको नाफा बढ्ने गरेको पाइन्छ।
कम्पनीकाे जीवन बिमा कोष ३४ प्रतिशतले बढेको छ। यस्तो कोष ८१ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष ६० अर्ब ६२ करोड रुपैयाँ थियो। जीवन बिमा कम्पनीको जति ठूलो जीवन बिमा कोष हुन्छ, त्यति राम्रो मानिन्छ। यसैका आधारमा कम्पनीको बोनस दर पनि बढी हुन्छ। नेपाल लाइफको जीवन बिमा कोष सबैभन्दा ठूलो छ। त्यसैले यस कम्पनीको बोनस दर अन्य कम्पनीको भन्दा धेरै छ। अहिले कम्पनीको बोनस दर प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म छ।
कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ८६ अर्ब ३१ करोड रुपैयाँ सुरक्षित र भरपर्दो क्षेत्रमा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो लगानी ६७ अर्ब ७ करोड रुपैयाँ थियो। यस्तो लगानी गत वर्षको भन्दा २८.६८ प्रतिशत बढी हो। कम्पनीले बिमा समितिको पछिल्लो लगानी निर्देशिकाअनुसार विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ।
कम्पनीको कर्जा लगानी तथा अन्य आय भने १८ प्रतिशतले घटेको छ। बैंकहरुले गत वर्षको भन्दा यस वर्ष व्याजदर घटाउँदा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर परेको हो। यस्तो आय ५४ करोड १८ लाख रुपैयाँ छ।
चैत मसान्तसम्मा कम्पनीले ३० हजार ४७४ बीमितलाई चार अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले अझै ७२ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
गत वर्ष चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर दिएर कम्पनीले चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुर्याएकाे छ। त्यस्तै जगेडा कोष भने ३८ प्रतिशतले घटेको छ। जगेडा कोषमा दुई अर्ब ७३ करोड रुपैयाँ छ। प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ छ।
कम्पनीको वित्तीय विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।