काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा बैंकको नाफा १३.२३ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिसम्ममा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
कोरोनाले प्रभावित कर्जा तथा अन्य दायित्व व्यवस्थापनपछि लाभांश वितरणयोग्य नाफा भने एक अर्ब १५ करोड रुपैयाँ मात्रै छ। बैंकले निक्षेप कर्ताको ब्याज बढाउँदा ब्याज खर्च बढेको छ। ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी ६.०६ प्रतिशतले घटेको छ। यस्तो आम्दानी ६ अर्ब ९३ करोड रुपैयाँ छ।
बैंकले गत असारको तुलनामा निक्षेप संकलन ५.९२ प्रतिशतले सुधार गरेको छ भने कर्जा विस्तार ४.२१ प्रतिशतले बढाएको छ। तेस्रो त्रैमाशिक अवधिमा बैंकले दुई खर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असारसम्ममा बैंकले एक खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
पुँजीकोष अनुपात बढेर १३.२६ प्रतिशत पुगेको छ। त्यस्तै खराब कर्जा पनि बढेर ४.६४ प्रतिशत थियो। नाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ४४ रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।