काठमाडौं- एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले चैत मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्ममा दुई अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको लाभांश वितरणयोग्य नाफा भने ४० करोड ७४ लाख रुपैयाँ मात्रै छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा तेस्रो त्रैमासिक अवधिमा ब्याज र किस्ता भुक्तानी नभएको कर्जालाई प्रोभिजनिङ गर्नुपर्दा वितरणयोग्य नाफा कम देखिएको बैंकले जनाएको छ।
खुद ब्याज आम्दानी ३ दशमलव ७३ प्रतिशतले सुधार गरेको बैंकले चालु आवको पहिलो ९ महिनाको अवधिमा ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको थियो।
गत असारको तुलनामा बैंकले ८ दशमलव ९८ प्रतिशतले निक्षेप बढाएको छ भने १३ दशमलव ०६ प्रतिशतले कर्जा विस्तार गरेको छ। यसै तेस्रो त्रैमासिक अवधिमा बैंकले एक खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अन्य बैंकभन्दा आक्रामक शैलीमा व्यवसाय विस्तार गरिरहेको बैंकको शाखा सञ्जाल सबैभन्दा धेरै छ।
पुँजीकोष अनुपात १२ दशमलव ११ प्रतिशत छ। खराब कर्जा थोरैले बढेर शून्य दशमलव सात प्रतिशत पुगेको छ। कस्ट अफ फन्ड ७.०२ प्रतिशत रहेको बैंकको आधार ब्याजदर भने ९.०१ प्रतिशत छ। चुक्ता पुँजी १० प्रतिशत बढाए सँगै नाफा भने १० प्रतिशतले नै बढाउदा प्रतिशेयर आम्दानी टिकाउन सफल भएको छ। प्रतिशेयर आम्दानी ३४ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।