काठमाडौं- संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले नेपालको भूभाग समेटेर तत्काल नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ।
सोमबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र भूमि व्यवस्था तथा सहकारीमन्त्रीसँगको छलफलपछि समितिले तीन बुँदे निर्देशन जारी गरेको छ।
समितिले गत वर्ष मंसिरमा पनि सरकारलाई नेपालको भूभाग समेटेर आधिकारीक नक्सा सार्वजनिक गर्न निर्देशन दिएको थियो। भारतले राजनीतिक नक्सामा नेपाली भूभाग समेटेको समयमा छलफल गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
समितिको उक्त निर्देशन कार्यान्वयन नहुँदै भारतले उक्त क्षेत्रमा सडक बनाएर उद्घाटन गरेपछि पुनः निर्देशन जारी गरेको हो।
समितिले दुईसम्म गरेको छलफलपछि सीमा क्षेत्रमा भारतद्वारा अन्तर्राष्ट्रिय कानुनविपरीत भौतिक संरचना बनाउने, नेपाली भूमि डुबानमा पार्नेलगायत विषयमा यसअघि दिएको निर्देशनमा पुनः ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ। नेपालको समग्र क्षेत्रलाई सुरक्षित बनाउन अन्तर्राष्ट्रिय कानुन र स्थापित मान्यताअनुरुप नियमन गर्नुका साथै व्यवस्थित गर्न समितिले भनेको छ।
राजनीतिक तथा कुटनीतिक पहलबाट सीमा व्यवस्थापन गर्न बाँकी रहेको परासीको सुस्ता, कञ्चनपुरको पुनर्बास र बेलौरीलगायतका ठाउँमा अबिलम्व काम सम्पन्न गर्न समितिले निर्देशन दिएको छ। हालै भारतले तावाघाटदेखि नेपालको दार्चुला जिल्लाको लिपुलेकसम्म सडक रोक्न र अतिक्रमित क्षेत्रमा रहोक भारतीय सुरक्षाकर्मीलाई हटाउन पनि समितिले निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।