काठमाडौं– कोरानाका कारण अहिले देशभर लकडाउन छ। लकडाउनसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि बन्द छ। बन्दका कारण सबै आर्थिक गतिविधि पनि बन्छ।
कोरोनका कारण सबैभन्दा धेरै असर हवाई उड्डयन र पर्यटन क्षेत्रमा परेको छ। पर्यटन र उड्डयन क्षेत्रमा परेको असरलाई लकडाउनपछि केही सहजता ल्याउन सहज हुने गरी बुद्ध एयरले आन्तरिक उडानमा नयाँ प्याकेज ल्याउने घोषणा गरेको हो।
तत्कालका लागि आन्तरिक उडानमा बुद्ध एयरले दुई गन्तव्यका लागि उडान र होलिडे प्याकेज सार्वजिनक गरेको छ। एयरले पहिलो चरणमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने गरी पर्यटकीय गन्तव्य पोखरा र चितवनको लागि प्याकेज ल्याएको हो।
कोरोना भाइरसको महामारीले विश्वव्यापी पर्यटन क्षेत्र धराशायी भएको छ। त्यसले नेपालमा पनि पर्यटक संख्या शून्यमा झरेको छ। यसकारण पर्यटनमा आधारित सबै क्षेत्र जस्तैः साना–ठूला होटल, रेष्टुराँ, खुद्रा पसल, यातायात, ट्राभल/ट्रेकिङ एजेन्सी आदिलाई ठूलो मार परेको छ। लाखौं श्रमिकको रोजगारी धरापमा परेको छ।
अब नेपालको पर्यटन उद्योग केही समयका लागि आन्तरिक पर्यटकमा निर्भर हुनेछ। त्यसैकारण बुद्ध एयरले यस महामारीसँग कर्मचारी र यात्रुलाई सुरक्षित राख्ने हिसाबले ‘सुरक्षा निर्देशिका’ जारी समेत गरिसकेको छ। सामान्य अवस्थामा पोखरा र चितवनमा ३० प्रतिशत काठमाडौंका आन्तरिक पर्यटकले ओगट्ने गरेको भन्दै यस्तो प्याकेज ल्याएको जनाएको छ।
त्यसका लागि बुद्ध एयर र भगिनी संस्था ‘बुद्ध होलिडेज’मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत साझेदारीमा पर्यटन प्रवर्द्धन गर्ने गरी प्याकेज ल्याएको छ। संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि ‘सांगठनिक लिखित निर्देशिका’ तयार गरेको बुद्ध एयरले जनाएको छ। उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार जुन १ तारिखबाट बजार व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय बुद्ध एयरले गरेको छ। तर, लकडाउन बढेको खण्डमा त्यसैअनुसार नयाँ मिति तोक्ने बुद्ध एयरले जनाएको छ।
जसमा बुद्धले पोखराको २ दिन पर्यटकीय प्याकेजमा होटेल प्लस उडानसहित ५ हजार ९ सय ९८ रुपैयाँकाे प्याकेज ल्याएको छ। उक्त रकममा काठमाडौं पोखरा दुई तर्फी टिकट, होटलको रुम र ब्रेक फास्ट रहेको छ।
त्यस्तै चितवनको २ दिन पर्यटकीय प्याकेजमा होटेल प्लस उडानसहित १३ हजार ९ सय ९८ रुपैयाँको प्याकेज छ। जसमा दुई तर्फी टिकट, जंगल सफारी, होटलको रुम र थारु कल्चर पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।