फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले लिपुलेका सम्बन्धमा 'कागजमा नभई जमिनै फर्काउँछु' भनेको ‘जमिन खोइ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
केही समय अगाडि भारतले लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि राखेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि आफूहरुले पनि नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा नभई जमिनै फर्काउछु भनेको स्मरण गर्दै उनले ‘त्यो जमिन खोइ?’भनी प्रश्न गरेका हुन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खाँडले भारतले नेपाली भूमिमाथि सडक बनाएको घटनाप्रति घोर भर्त्सना गर्दै नेपाली भूमि फिर्ता गर्छु भनेको भूमि खोइ भनी प्रश्न गरेका हुन्।
'केही महिना अगाडि भारत सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। त्यसमा नेपाली भुभाग लिपुलेक र लिम्पियाधुरालगायतका केही भूभाग भारतमा समाहित गर्दाखेरी यो सदनमा पनि गम्भीर विरोध भएको थियो। नेपालीका सबै राजनीतिक दलहरुले त्यो नक्सा सच्याउन, नेपाली भूमिलाई फिर्ता ल्याउन र नेपालले आफ्नो नक्सा जारी गर्नका लागि सहमति जस्तो बनेको थियो,' उनले भने, 'संसदीय समितिले पनि निर्देशन गरेको थियो सरकारलाई। त्यत्तिखेर प्रधानमन्त्रीले म त नक्सा जारी गर्ने होइन, कागजमा होइन जमिन नै फर्काउँछु भन्नुभएको थियो। आज त्यो नक्सा कता गयो? त्यो जमिन कता गयो? त्यो जमिनमा त उल्टै बाटो बनाईदिएको छ। उद्घाटन गरेको छ। यो एकदमै विरोधजन्य कुरा छ।
नेपाली सिमा संरक्षणमा सरकार गम्भीर नभएको आरोप उनले लगाए। 'सरकारले यसमा थाहा नपाएको जस्तो गरेको छ। मन्त्रीले ‘होइन मलाई थाहै थिएन’ भन्दिनु भो पहिला। फेरि यहाँ आएर थाहा थियो हामीलाई पहिला नै भन्दिनु भयो। एकजना मन्त्रीले फेरि हेलिकोप्टर चढेर लिम्पियाधुरा हेर्न जानुभो,' उनले भने।
त्यसैगरी नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले भारतले नेपाली भूभागमा गरेको अतिक्रमणको भर्त्सना गर्दे अतिक्रमित भुभाग फिर्ताका लागि अबिलम्ब कुटनितिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद तिल बहादुर महत क्षेत्रीले भारतीय अतिक्रमण रोक्न खुला सिमानामा तारबार र पर्खाल निर्माण गरी दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।
सांसद दिव्यमणि राजभण्डारी राज्यका सार्वभौम सत्ता र अखण्डतामाथि नै आँच आउँदा रक्षामन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने? भनी प्रश्न गरेका थिए।
सांसद प्रेम सुवालले देशको सार्वभौमसत्ता कायम गर्न भित्री वा बाहिरी कुनै पनि शक्ति संग झुक्न नहुने भन्दै सिमा अतिक्रमण विरुद्ध सिमानामा निगरानी बलियो बनाउन आग्रह गरे। उनले कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरणका लागि काठमाण्डौ लगायतका आन्तरिक सिमानामा आवतजावतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद प्रकाशमान सिंहले केही दिन यता विभिन्न जिल्लाबाट एम्बुलेन्समा बिरामीको नाममा काठमाण्डौ भित्रने काम भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए। उनले राहत वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन पनि आग्रह गरे।
सांसद प्रमिला राईले कोरोना संक्रमितहरुको संख्या बढी देखिएका स्थानमा कोरोना परीक्षणको संख्या बढाउन माग गरे। त्यसैगरी सिलबन्दी गरिएका स्थानमा मजदुर लगायत सर्वसाधरण भोकभरीमा परेको भन्दै राहतको प्रभावकारी व्यवस्था गर्न माग गरे।
सांसद प्रमोद शाहले कामको शिलसिलामा भारत लगायत खाडी मुलुक गएका नेपालीलाई स्वदेश ल्याउने पहल नगरेको प्रति असन्तुष्ठि जनाएका थिए। सांसद प्रभु शाहले कोरोनाको सन्त्रास र लकडाउनसँगै बारा, रौतहट र सर्लाहीमा असिना पानीले किसानहरुको बसोबास सहित अन्नबालीमा ठूलो क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गरि राज्य भएको अनुभूति दिलाउन माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।