सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्तिसहित उद्यान (पार्क) निर्माण भइरहेकाे छ। बागमती प्रदेश सरकारको रु एक करोड ५० लाख बजेटबाट ३९ फिटको बुद्ध मूर्ति बनिरहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए।
विसं २०७६ माघमा बागमती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गरेकाे बुद्ध मूर्ति निर्माणकार्य बन्दाबन्दीमा पनि जारी रहेको रिसालले बताए। बुद्ध मूर्तिसँगै उक्त स्थानमा सुविधासम्पन्न उद्यान निर्माण गरिने वडाको योजना रहेको उनको भनाइ छ।
बुद्ध मूर्ति निर्माणकार्यमा अहिले नौ जना भूटानी कालिगढ खटिरहेका छन्। आफ्नो चुनावी घोषणापत्रअनुसार बुद्ध मूर्ति र उद्यान निर्माणको काम भइरहेको उनले बताए। ३९ फिटकाे बुद्ध मूर्ति रहेको सो स्थानबाट चौतारा, नगरकोट र धुलिखेल देख्न सकिने अध्यक्ष रिसालले बताए। आफ्नो आग्रहमा बागमती प्रदेश सरकारको उद्योग, वन, पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेको उनले बताए।
धर्म निरपेक्ष राष्ट्रमा जातजाति र धर्मको नाममा विवाद हुनु हुँदैन भन्ने सन्देश दिन यो योजना अगाडि बढाइएको उनको भनाइ छ। २०७७ असार मसान्तसम्म बुद्ध मूर्ति निर्माणकार्य सक्ने लक्ष्य लिइएको छ। बुद्ध मूर्तिसँगै उक्त स्थानमा सुविधासम्पन्न पार्क निर्माण गरिने लक्ष्य रहेको उनी बताउँछन्। पार्कमा हेलिप्याड, वन भोजस्थल, शिव मन्दिर, धारा, बाथरुम र शौचालय रहने छ।
पर्यटनमन्त्रीले शिलान्यासका क्रममा बुद्ध मूर्तिसँगै पार्क निर्माण सम्पन्न गराएरै छाड्ने प्रतिबद्धता जनाएकाछन्।
त्यस्तै वडाले शेर्पा र गुरुङ बस्तीमा होमस्टे (घरवास) सञ्चालन गर्ने भएको छ। पर्यटन नै विकासको मुख्य आधारका रूपमा रहेकाले पर्यटनलाई वडाले जोड दिएको उनले बताए। यसअघि वडाले घरघरमा गई विद्यार्थी भर्ना र पुस्तक वितरणकार्य पनि गरेको थियो। बुद्ध मूर्ति र पार्क बन्ने भएपछि स्थानीयवासी खुसी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।