काठमाडाैं-राष्ट्रिय मानव अधिकार आयोगले नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकको तत्काल उद्धार गरी विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेण्टाइन तथा आइसोलेशनमा राख्न निर्देशन दिएकाे छ।
आयोगले उनीहरुको आवश्यक स्वास्थ्य परीक्षण गराउन र नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन गरी राज्यको दायित्व वहन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
एक विज्ञप्ति जारी गर्दै आयोगले छिमेकी राष्ट्र भारतमा रोजगारीका लागि गएका नेपालीहरु भारतमा समेत लकडाउन भएपश्चात् स्वदेश फर्किने क्रममा सिमानामा अलपत्र रहेको अनुगमनमा पाइएको उल्लेख गरेको छ। यसरी फर्केकालाई सुरक्षाकर्मीले स्वदेश प्रवेशमा रोक लगाएकाले वैकल्पिक बाटोबाट नेपाल प्रवेश गरेको तथा कतिपय नागरिकहरु सीमा नाकामा नै असुरक्षित रुपमा रहिरहेको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारका नाममा यस्तो निर्देशन दिएको हो।
साथै,सीमा नाकामा आई क्वारेण्टाइनमा बसेकाहरु समेत ६ हप्तादेखि नाकामै अलपत्र परेको अवस्थाप्रति पनि आयाेगले ध्यान दिन भनेको छ। यसरी वैकल्पिक बाटोबाट स्वदेश प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षण नहुने तथा गाउँ सहरमा लुकिछिपी रहने कारणबाट संक्रामक रोगको जोखिम बढ्ने सम्भावनामा ख्याल गर्न सरकारले भनेको छ।
आयोगले नेपाल बार एशोसियसन, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा विभिन्न तहका समितिहरुमार्फत् मानव अधिकारको अवस्था सम्बन्धमा देशव्यापी रुपमा अनुगमन गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।