काठमाडाैं- सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामग्री अभाव भएको तथा लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न स्थानमा अझै पनि आवश्यक स्वास्थ्य सामग्री पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले भारतलगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि आग्रह गरे।
सांसद टेकबहादुर बस्नेतले सल्यानमा काेराेना परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। सांसद दलबहादुर रानाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे बमोजिमको सामग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महसुस सर्वसाधारणले गर्न नसकेको आरोप लगाए।
यसैगरी, सांसद डिला संग्रौला पन्तले कोरोनाभन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शव ल्याउन पहल गर्न तथा विदेशमा अलपत्र परेका र भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरिन्। त्यस्तै, उनले कोरोना अस्पताल सबै विकास क्षेत्रमा स्थापना गर्न माग गर्दै चितवनको अस्पतलामा चोरी भएको घटनाबारे सदनमा जानकारी गराउन माग गरे।
सांसदहरु दामोदर भण्डारी, दीपकप्रसाद भट्ट र दिलकुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथाशिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्।
सांसदहरुको प्रश्नपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन्। उनले संसदमा उठेका महत्वपूर्ण विषयमा काम गर्न सरकारकाे ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।