काठमाडौं-नेपाल सरकारले कोभिड-१९ राेकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउनका कारण ५० दिन बन्द भएर मंगलबार खुलेकाे शेयर बजार नकारात्मक सर्किट लागेर बन्द भएको छ। कारोबार सुरु भएको एक घण्टा २५ मिनेटमै दुई प्रतिशतले घटेर बन्द भएको हो।
कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजारमा बाणिज्य बैंकको शेयरमा भारी गिरावट आउदा सर्किट लागेर आज दिनभरिका लागि बन्द भएको छ। लकडाउनकै अवधिमा खुलेको शेयर बजारमा नेप्से सूचक २ प्रतिशतले गिरावट आउने बित्तिकै बन्द हुने व्यवस्था गरिएको छ।
असामान्य अवस्थामा बजार खुलेको हुनाले बोर्डले दुई प्रतिशतमै सर्किट लाग्ने व्यवस्था गरेको थियो। अन्य अवस्थामा नेप्से सूचक ६ प्रतिशतले घटेर सर्किट लाग्छ। मंगलबार नेप्से सूचक २५ अंकले घटेर १२२६.१५ अंकमा रोकिएको हो।
एक घण्टा २५ मिनेटमा ८४ वटा कम्पनीको एक १० करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार सबैभन्दा धेरै नागरिक लगानी कोषको ८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो।
सबैभन्दा धेरै बैंकिङ सूचक २.३९ प्रतिशतले घटेको छ। त्यस्तै सम्पूर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्। कोरोना भाइरसका कारण नेपालसहित विश्व अर्थतन्त्र नै प्रभावित हुने आँकलन गरिएको छ।
नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई राहत दिने भन्दै सम्पूर्ण वाणिज्य बैंकहरुलाई चौथो त्रैमासिक अवधिमा ऋणीहरुको दुई प्रतिशत व्याज घटाउन निर्देशन दिएको छ। यस्तो व्यवस्थाले बैंकहरुको १६ अर्बभन्दा माथिको आम्दानी घट्नेछ। यसले बैंकहरुको नाफामा भारी गिरावट आउनेछ।
यसका साथै लकडाउनका कारण बैंकहरुले प्रदान गरेको कर्जाको साँवा, व्याज र किस्ता समयमा भुक्तानी हुने अवस्था छैन। दोस्रो बजारमा ८४ प्रतिशतभन्दा माथिको हिस्सा ओगटेको बैंकिङ क्षेत्रको नाफामा भारी गिरावट आउने भएपछि दोस्रो बजार थप प्रभावित बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।