काठमाठाैं-नेकपाका सांसद भीम रावलले अबको बजेट स्वाधीनता बचाउने हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रि-बजेटमाथिकाे छलफलमा भाग लिँदै रावलले कालापानी र लिपुलेकजस्तै अन्य सिमानामा बस्ने सुरक्षाकर्मी र त्यहाँकाे पूर्वाधार विकास गर्न सरकारलाई बजेट केन्द्रित गर्न सुझाव दिए।
त्यस्तै कोरोनापछि विदेशमा रहेका नेपालीहरु फर्कने भएकाले उनीहरुलाई काम लगाउने योजना र कोरोनाबाट परेको असरबाट अर्थतन्त्र उकास्ने बजेट आउनुपर्ने उनले टिप्पणी गरे।
संसदमा भीम रावलले राखेकाे भनाइ :
नेपालीहरु कोरोनाका कारण विदेशबाट नेपाल फर्कने बाध्यात्मक स्थिति आएको छ। भारतले लिम्पियाधुरा र कालापानी मिचेको छ। ती क्षेत्रहरुको सुरक्षाका लागि सार्थक पाइला चालिएको छैन। देश र जनता सुरक्षित नभई देश विकास हुँदैन।
सिमाना सुरक्षा गर्न आवश्यक सुरक्षाकर्मीका साथै खाने, बस्ने र लत्ताकपडा आवश्यक छ। तर, सुन्नमा पाइएको छ यसरी रहेका सुरक्षाकर्मीहरु भोकै नाङ्गै रक्षा गरिरहेका छन्। आगामी बजेटमा यहाँका लागि उचित व्यवस्था गर्न बजेट विनियोजन गरिनुपर्छ। नीति र सिद्धान्त व्यवहारमा भएन भने केही हुँदैन।
पञ्चायतकालमा टिंकरबाट नाका भन्सार थियो। अहिले किन पुनर्स्थापना हुँदैन। यसमा आगामी बजेटमा समेटिन पर्याे। कृषिका लागि ठोस कार्यक्रम ल्याइनु पर्याे। कृषिमा टुटेको उत्पादन भनेको के हो? कोरोनाले हो कि समग्रता हो। लोककल्याणकारी राज्यको अवधारण यो बजेटले ल्याउँदैन। उत्पादनका साधानमा सबै नागरिकको पहुँच पुर्याउने व्यवहारमा कार्यान्वयन हुने देखिँदैन।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न भनिएको छ। तर, ठूला र शक्तिशाली व्यक्तिमाथि कारबाही गर्न स्वतन्त्र निकाय डराउने अवस्था अन्त्य हुने कि नहुने? सार्वभौमसत्तामा अडिग भएर अघि बढ्ने कुरामा राष्ट्रिय एकता कायम हुनुपर्छ र स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ। नेपालको नक्सा तत्काल जारी गर्नुपर्छ।
अर्थमन्त्रीले जुन प्राथमिकता र सिद्धान्त पेश गर्नु भएको छ, यसलाई विस्तृत चर्चा गर्ने सम्भावना छैन। तर, देशको हितलाई केन्द्रमा राखेर बनाउन जरुरी छ। अब आउने बजेटमा विदेशबाट फर्कने र कोरोनाको कारण असर परेको अर्थतन्त्रलाई उकास्नमा केन्द्रित हुनुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।