फाइल तस्बिर
काठमाडाैं- प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नेपालको भूमि मिच्ने भारतको व्यवहार सच्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
शून्य समयमा एक मिनेट समय लिएर बोलेका नेकपा, नेपाली कांग्रेस र स्वतन्त्र सांसदहरुले यसमा एकमत भएर पहल थाल्न आग्रह गरेका हुन्। कांग्रेस सांसद पार्वती डिसी चौधरीले अब कूटनीतिक पहलसँगै अन्तर्राष्ट्रियकरण गर्न पछाडि हट्न नहुने बताइन्।
यसैगरी, नेकपाका सांसदहरु देवेन्द्रराज पौडेल, नवराज सिलवाल, पदम गिरीलगायतले अब ठोस पहल गर्न सरकारलाई आग्रह गरे। कालापानी र लिपुलेक नेपाली भूभाग हो भन्ने जान्दाजान्दै भारतले गरेको कार्य राम्राे नभएकाे सांसदहरुकाे भनाइ छ।
सांसद पार्वती विशुंखेले छिमेकी बदल्न नसकिने तर यसलाई सच्याउन सकिन्छ भन्दै थप कूटनीतिक पहल गर्न आग्रह गरिन्। सांसद यशोदा सुवेदीले भनिन्, 'सरकारले यसमा चीनसहितको त्रिदेशीय सहमतिबाट भूमि कायम गरियोस्। सबै भूभाग समेटेर नक्सा सार्वजनिक होस्।'
नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले भारतले सडक बनाएकोप्रति विरोध जनाए। ‘भारतले नक्सा जारी गर्दा यो सदनमा गम्भीर ध्यानाकर्षण भएको थियो। सबै राजनीतिक दलका बीचमा नक्सा नेपालले जारी गर्ने सहमति भएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले नक्सा हैन जमिन नै ल्याउने भन्नु भएको थियो। तर खै त जमिन फिर्ता भएको, उसले त बाटो नै बनाएको छ।'
यसैबीच सांसदहरुले भारतले नेपाली भूमिमा सडक बनाएकाे विषयमा विराेध जनाएपछि सभामुख अग्निप्रसाद सापकाेटाले यसविषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।