काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा गत वर्षको तुलनामा २.७३ प्रतिशतले गिरावट आएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा दुई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा दुई अर्ब ५६ करोड रुपैयाँ थियो।
तर वितरण योग्य नाफा भने जम्मा २४ करोड ९५ लाख रुपैयाँ मात्रै छ।
बैंकको खुद ब्याज आम्दानी चार अर्ब ५३ करोड रुपैयाँ छ। यस्तो आम्दानी गत वर्षको भन्दा ७.६५ प्रतिशतले घटेको हो। बैंकको निक्षेप संकलन गत असार तुलनामा ४.९५ प्रतिशतले बढेको छ भने कर्जा बिस्तार १२.४७ प्रतिशत मात्रै छ।
चैत मसान्तसम्ममा बैंकले एक खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ। गत असारमा बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो।
पुँजीकोष अनुपात १२.५९ प्रतिशत छ। बैंकले गत वर्षको तुलनामा खराव कर्जा ०.३७ प्रतिशत बिन्दुले घटाउन सफल भएको छ। यस्तो खराब कर्जा २.६७ प्रतिशत छ। बैंकका दुई तीन वटा ठूला ऋण बिग्रिँदा पछिल्लो समय ठूलो समस्यामा छ।
बैंकको प्रतिशेयर आम्दानी चार रुपैयाँले घटेर २३ रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।