काठमाडौं– विदेशमा कोरोनाबाट प्रभावितलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ता गराउन मागसहित सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गरिएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाको प्रस्तावमा कांग्रसकै सांसदद्वय डिला संग्रौला र प्रकाश स्नेहीले समर्थन गरेका छन्।
सोमबार संसदमा दर्ता भएको प्रस्तावमा विदेशमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी नेपालमा ल्याउन आग्रह गरिएको छ। सरकारले तोकेको मापदण्डसहित स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फिर्ता गर्न मागसहित प्रस्ताव दर्ता भएको छ।
रोजगारी गुमाएर २ लाख ८० हजारसहित ४ लाख ७ हजार नेपाली श्रमिक नेपाल फर्कन लागेको अनुमानित आंकडा प्रस्तुत गरिएको छ। भिसा म्याद सकिएका तथा आममाफीका कारणले तत्कालै १ लाख २७ हजार फर्कने अवस्थामा रहेको जनाइएको छ।
आइओएमद्वारा प्रकाशित प्रतिवेदनमा कुल २३ लाख ६५ हजार ९७५ जना नेपाली विश्वका विभिन्न ६९ देशमा रहेको तथ्याङ्क छ। रोजगारीका प्रमुख सात गन्तव्य मुलुक मलेसिया, कतार, साउदी, युएई, कुवेत, बहराइन र ओमानमा १४ लाख हाराहारी श्रमिक रहेको सरकारी तथ्यांक छ। रोजगारी र अन्य प्रयोजनका लागि विभिन्न मुलुकमा ५० लाख हाराहारीमा नेपाली परदेशमा छन्।
कोरोनाका कारण श्रमिकलाई विना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलवी विदामा जान दवाव दिने, पारिश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको सांसदत्रयको संकल्प प्रस्तावमा उल्लेख छ। ‘अहिले फिर्ता ल्याउने व्यवस्था गर्न सकिँदैन, त्यसैले जो जहाँ छ त्यही बस्ने हो’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति नदिन सरकारलाई आग्रह गरिरहेको छ। ‘योजना बनाइरहेको’ भनि सरकार पन्छिन नमिल्ने उनीहरुको प्रस्तावमा उल्लेख छ।
फर्केनेहरुका लागि बन्द रहेका होटल, रिसोर्ट, पार्टी प्यालेस, क्वारेन्टाइन सेन्टरको रुपमा व्यवस्था गर्न सकिने विकल्प सुझाइएको छ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।