काठमाडाैं- राष्ट्रिय सभाकी सांसद विमला राई पौडलले अर्थमन्त्रालयले बजेटका प्राथमिकता र सिद्धान्तमा पुरानो कपी पेस्ट गरेको आरोप लगाएकी छन्। राष्ट्रिय सभामा बोल्दै सांसद राईले केही क्षेत्र विगतकै दोहोरिएको र केही क्षेत्र छुटेको बताइन्।
‘कृषि सुधार गर्ने भनिएको छ, कृषि क्रान्ति गर्ने भनिएको छ,’ उनले भनिन्, ‘यो नारा त विगतका धेरै दशकदेखि राख्दै आएको हो। यो पटक पनि त्यही कपी पेस्ट भएछ।’ वनको वैज्ञानिक व्यवस्थापन भनिएको छ, तर यसमा कसरी आम्दानी लिने त्यसको उद्देश्य नदेखिएको उनले बताइन्।
‘वैज्ञानिक वन व्यवस्थापन भनेर मैले सुनेको धेरै वर्ष भइसकेको छ,’ उनले भनिन्, ‘वनलाई वातावरणसँग मात्र जोडेर हेर्न छोडौं।’ वनमा भाचिएका रुखहरुलाई मात्र उचित व्यवस्था गर्ने हो भने धेरै आम्दानी हुने भन्दै उनले जलवायु परिर्वतनले ल्याउने असरमा पनि सरकारले ख्याल गर्नुपर्ने बताइन्।
सार्वजनिक यातायातलाई विद्युततीकरण गर्ने कुरा बजेटको प्राथमिकतामा छुटेकाले समावेश गर्न माग उनकाे माग छ। कोरोनाको असरलाई न्यून गर्ने र राहत दिने बजेट आओस् भन्दै उनले सरकारलाई त्यही रुपमा तयारी गर्न भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।