काठमाडाैं- नेकपाका सांसद वेदुराम भुसालले अबको बजेट नेपालका पहाडकाे माटो बेचेर आर्थिक क्रान्ति गर्ने नभई ती पहाडमा सुन फलाउने प्राथमिकता राखेर आउनुपर्ने बताए।
‘बजेटका प्राथमिकता र सिद्धान्तमा सबै प्रकारका असमानता अन्त्य गर्दै समाजवादतर्फ उन्मुख हुने उल्लेख छ,’ राष्ट्रिय सभाकाे बैठकमा बाेल्दै भुसालले भने, ‘समाजवादमा अघि जानुअघि असमानता अन्त्य गर्ने बजेट व्यवस्था गरौं।’ बजेटको प्राथमिकता र सिद्धान्तमा समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न जरुरी हुने कुरा उल्लेख हुनुपर्ने तर्क उनले गरे।
‘जबसम्म सबै पक्ष रुपान्तरण हुँदैन तबसम्म समाज यथास्थितिमा रहन्छ,’ उनले भने, ‘सांस्कृतिक रुपान्तरणमा केन्द्रित हुने बजेट आउनुपर्छ।’ नेपालको राष्ट्रिय हित अनुकूलको सम्बन्ध विकास गर्ने कुरा आए पनि पर्याप्त नभएको उनले बताए। ‘हाम्रो भौगोलिक अखण्डतामा कसरी प्रहार भएको छ,’ उनले भने, ‘अब राष्ट्रियहित अनुसार भनेर मात्र पुग्दैन। हाम्रो भौगोलिक अखण्डता कायम गर्न सिद्धान्त हुनुपर्ने भएको छ।’
रोग, भोक, रोजगारी र अर्थतन्त्र बचाएर आत्मनिर्भरतामा केन्द्रित गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने टिप्पणी उनले गरे। रोग र भोकबाट बचाउन स्थानीय तहलाई बलियो बनाउन जरुरी देखिएको भन्दै उनले अहिले स्थानीय तहले गरेको कामलाई प्रशंसा गर्नुपर्ने बताए।
कृषिसँगै पशुपन्छी पालनमा पनि सरकारको बजेट केन्द्रित हुनुपर्ने उनको सुझाव छ। पर्यटन क्षेत्र अब हाम्रा लागि केही वर्ष पछाडि धकेलिएकाले भारतबाट आएको तरकारी खानु परेको अवस्था अन्त्य गर्ने बजेट आउनुपर्ने उनले बताए। 'स्थानीय उत्पादनले बजार पाएका छैनन् यसतर्फ आउने बजेट केन्द्रित हुनुपर्छ,' उनले भने।
‘कृषि क्रान्ति गर्न सम्पुर्ण तराईमा नहर बनाएर काम गर्नु पर्छ। सातै प्रदेशमा ठूला ठूला कृषि सामग्री खरिद गर्ने केन्द्र बनाउन जरुरी छ,’ उलने भने ‘जडिबुटी र पर्यावरणलाई समेट्ने खालकाे बजेट आउनुपर्छ। पहाडको माटो बेचेर होइन यहाँ सुन फलाउने गरी बजेट आउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।