काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफ्नो जनशक्ति खटाउने तयारी गरेको छ।
विकट कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो। तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो। यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो।
सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले पनि कालापानी क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको छाङ्गरुमा सशस्त्रको टोली पठाउन तयारी अवस्थामा रहनु भन्दै निर्देशन आएको जानकारी दिए।
‘हामीलाई मौखिक निर्देशन आइसकेको छ। एक दुई दिनमै जाने हिसाबले तयारी गर्नु भन्ने आदेश आएको छ। लिखित निर्देशन आएपछि यहाँबाट टोली जान्छ,’ डिएसपी विष्टले नेपाल लाइभसँग भने।
स्रोतका अनुसार आउँदो बुधबार छाङ्गरुमा सशस्त्र प्रहरी पठाउने तयारी छ। निर्देशनअनुसार नै फौज पठाउने तयारी गरिएको उनले जानकारी दिए। प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको फौज छाङ्गरुमा पठाउने तयारी गरिएको छ। यसका लागि ६ महिनासम्म पुग्ने राशनको समेत व्यवस्था ५० नम्बर गुल्म दार्चुलाले गरिसकेको जनाएको छ।
छाङ्गरु जाने बाटोको सुविधा छैन। त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ। हेलिकोप्टरमार्फत् नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो।
छाङ्गरुभन्दा माथि गागामा बिओपी राख्ने निर्णय भने गत मंसिरमै भएको थियो। पहिले नै राख्ने तयारी भइरहे पनि लकडाउनका कारण समस्या भएको थियो। तर भारतले केही दिनअघि मात्रै कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि तत्कालै छाङ्गरुमा अस्थायी बिओपी राख्न लागिएको हो।
छाङ्गरुमा बिओपी राख्नका लागि चाहिने सम्पूर्ण तयारी पनि पूरा गरिसकिएको सशस्त्र प्रहरीले जनाएको छ।
छाङ्गरुमा बिओपी राख्न स्थानीयले जमीनसमेत उपलब्ध गराइसकेका छन्। छाङ्गरुमा बिओपी राख्ने तयारी भएपछि गत चैतको पहिलो साता ५० नम्बर गुल्म दार्चुलाबाट निरीक्षणसमेत गरिसकेको डिएसपी विष्टले जानकारी दिए। ‘हामीले चैतको पहिलो साता नै छाङ्गरुमा बिओपी राख्नेबारे निरीक्षणसमेत गरेका थियौं। ठाउँ एकदमै विकट छ। यातायातको सुविधा छैन । हिँडेरसमेत जान सक्ने अवस्था छैन,’ डिएसपी विष्टले भने।
अहिले नै भवन निमार्ण गरेर बिओपी राख्न सम्भव नभएपछि घर भाडामा लिएर बिओपी राख्न लागिएको हो। जाडोमा भने हिमपातका कारण समस्या हुने यस क्षेत्रमा अहिले भने फौज बस्न सक्ने अवस्था रहेको छ।
तर फौज राख्न चुनौती भने रहेको सुरक्षा अधिकारीको चिन्ता गरेका छन्। ‘छाङ्गरु जानका लागि नेपालतर्फबाट बाटो छैन । ठाउँ-ठाउँमा भत्किएको, सुख्खा पहिरो गएको छ। हिँडेर जान सकिने अवस्था छैन। भारतबाट जाँदा पनि उस्तै समस्या छ। अहिले जाँदा हेलिबाट गए पनि केही अप्रिय घटना भइहाले वा सुरक्षाकर्मी बिरामी भइहालेको अवस्थामा रेस्क्यु गर्नसमेत अफ्ठयारो छ । यसलाई राज्य संयन्त्रले बुझ्न आवश्यक छ’ सशस्त्रका एक अधिकारीले भने ।
नेपालको पूर्व, पश्चिम र दक्षिणमा १८ सय ४० किलोमिटर सीमा भारतसँग जोडिएको छ। त्यसमा १२१ बिओपी छन्। औसतमा १५ देखि २० किलोमिटरको फरकमा बिओपी छन्। एउटा बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५ जनाको दरबन्दी हुन्छ। तर जनशक्ति अभावका कारण दरबन्दी अनुसार सुरक्षाकर्मी खटाउन नसकेको गुनासो सशस्त्रका अधिकारीहरुले गर्दै आएका छन्।
बिओपीले सीमा नाकामा हुने गतिविधिलाई निगरानी गर्ने, कुनै स्तम्भ हरायो, भत्कियो, ढल्यो भने सम्बन्धित निकायलाई बिओपीले तुरुन्त खबर गर्नुपर्ने हुन्छ। कुनै ठाउँमा सीमाको अतिक्रमण भएको छ भने तुरुन्तै गृह मन्त्रालयमार्फत् नापी विभागसम्मलाई खबर हुन्छ। तर विकट ठाउँमा बिओपी राख्न नसक्दा अहिलको समस्या आएको सशस्त्रका अधिकारीको भनाइ छ।
(तस्बिर सौजन्यः राजेन्द्र साउद, सशस्त्र सहायक हवल्दार, ५० नम्बर गुल्म दार्चुला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।