काठमाडौं– चिनियाँ सरकारी टेलिभिजन ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क' (सीजीटीएन)ले सगरमाथाको तस्बिर राखेको विषयलाई लिएर विवाद सुरु भएको छ। कतिपयले उक्त टेलिभिजनले सगरमाथा चीनको भएकाे दावी गरेको भन्दै त्यसकाे समाजिक संञ्जालमा आलोचना गरिरहेका छन्।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क' (सीजीटीएन)ले ट्विटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो। सीजीटीएनले मे २ मा सगरमाथा क्षेत्रका केही तस्बिर आधिकारिक ट्विटर ह्याण्डलमा राखेको थियाे।
त्यही विषयलाई भारतीय समाचार संस्था एएनआईले चीनले सगरमाथाको अवस्थिति तिब्बततिर पार्न खोजेको भन्दै आइतबार समाचार सार्वजनिक गरेको छ।

त्यही समाचारलाई भारतका अन्य संचारमाध्यमले समेत ‘कभर’ गरेपछि नेपालमा पनि कतिपयले चीनले सगरमाथा अतिक्रमण गरेको भन्दै प्रचार गरिरहेका छन्। सन् १९६० मा नेपाल र चीनबीच सीमा विवाद समाधान सम्झौता भएको थियाे। उक्त सहमतिअनुसार सगरमाथाको दक्षिणी भाग नेपालको र उत्तरी भाग चीन (बिब्बत)को हुने गरी विवाद समाधान भएको थियो।
समाजिक संजालमा जनाइएका प्रतिक्रियाप्रति टिप्पणी गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख विष्णु रिजाललले उक्त सहमतियता चीनले सगरमाथाबारे कुनै विवाद नझिकेको बताएका छन्। कुनै संस्थाले भन्दैमा तथ्य नलुक्ने भन्दै उनले दुई देशको सम्बन्धलाई खलबल पार्ने विषयमा ध्यान दिनुपर्ने रिजालले बताएका छन्।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्नेमा कुनै दुविधा छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘सन् १९६० मा प्रम वीपी कोइरालाको चीन भ्रमणका बेला अध्यक्ष माओत्सेतुङसँग चीनको हान्चाउमा मध्यरातमा भएको वार्ताबाटै यो विषय टुंगिसकेको हो र त्यही अनुसार सन् १९६१ मा राजा महेन्द्र र राष्ट्रपति ल्यु शाओचीबीच सीमा सम्झौतामा हस्ताक्षर भएको हो। त्यसयता सगरमाथाबारे चीनले कहिल्यै विवाद निकालेको छैन। अनि कुनै संस्थाले सगरमाथाको फोटो खिचेर ट्विट गर्दैमा यस्तो तथ्य लुक्छ र? दुई देशबीचको सम्बन्धमा फाटो पार्ने यस्ता गतिविधिहरुबारे सम्बन्धित पक्षको गम्भीर रुपमा ध्यान जान जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।